Kathmandu Press

डा. अमरेश सिंहले भने- प्रधानमन्त्रीमा दृष्टिदोष छ, नजिक हेर्ने चस्मा दिऊँ

काठमाडौं, साउन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको आरोप लगाएका....

डा. अमरेश सिंहले भने- प्रधानमन्त्रीमा दृष्टिदोष छ, नजिक हेर्ने चस्मा दिऊँ

काठमाडौं, साउन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभा बैठकको मंगलबार विशेष समयमा बोल्दै डा. सिंहले प्रधानमन्त्री ओलीमा दृष्टिदोष रहेकाले नजिक हेर्ने चस्मा उपलब्ध गराउनु पर्ने बताए।

‘हाम्रा प्रधानन्त्रीज्यूले बारम्बार भ्रष्टाचार भएको भन्ने सुन्न र देख्न पनि चाहन्न भन्नु हुन्छ। तर, उहाँमा दृष्टिदोष छ। म सभामुखमार्फत उहाँलाई नजिक हेर्ने चस्मा उपलक्ध गराउनु आग्रह गर्छु,’ उनले भने,‘ ताकि उहाँले आफ्ना वरिपरीका भ्रष्टाचारी, विचौलिया र दलालहरुलाई देख्नु होला।’

सांसद सिंहले भ्रष्टाचार भएको देख्न र सुन्न पनि नचाहने प्रधानमन्त्रीकै वरिपरी भ्रष्टाचारी, विचौलिया र चलालहरु सल्बलाइरहेको आरोप लगाए। ‘जम्मै विचौलिया र दलालहरु उहाँकै वरिपरी छन्,’ सिंहले भने,‘ठूला दलाल र विचौलियाहरुमाथि कारबाही गर्नुपर्छ।’ 

बालुवाटारको ललितानिवासको जग्गा प्रकरणदेखि नयाँ बसपार्कको भ्रष्टाचारको विषय बाहिर आएको भन्दै उनले  दलाल र विचौलियामाथि कारबाही नगरे मुलुक अघि बढ्न नसक्ने बताए। 

सबैतिर दलाल र विचौलिया हाबी भएको भन्दै उनले टुँडिखेल, सिंहदरबार र संसद भवन कहिले बिचौलिया र दलाललाई हस्तान्तरण हुन्छ? भन्ने प्रश्न पनि गरे।

सांसद सिंहले २०६३ सालपछि के ठूला नेता र कर्मचारी कसैले पनि भ्रष्टाचार गरेका छैनन् त भन्ने प्रश्न पनि संसदमा गरेका थिए।

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, साउन २८, २०७६