छानविन समितिले बुझायो बाँके घटनाको प्रतिवेदन
काठमाडौं, कात्तिक १५ : बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण...
काठमाडौं, कात्तिक १५ : बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ।
गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए। प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन्।
समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख छ। प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ। समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिश गरेको छ।
समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य रहेका थिए।











