Kathmandu Press

प्रधानमन्त्री देउवा स्कटल्यान्डमा

स्टकल्यान्ड, कात्तिक १५ : प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ...
प्रधानमन्त्री देउवा स्कटल्यान्डमा

स्टकल्यान्ड, कात्तिक १५ : प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति स्कटल्यान्ड पुगेका छन्।

प्रधानमन्त्री देउवा आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई हुनेछन्। त्यससँगै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने तय गरिएको छ। भ्रमणका दौरान उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्।

मंगलबार नै श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति लन्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लन्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले  भेटवार्ता गरेका छन्। यससँगै प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रममा सहभागी भएका छन्।

प्रधानमन्त्री देउवा आइतबार राति लन्डनबाट स्कटल्यान्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन्। अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ। (रासस)

 

प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्