Kathmandu Press

नेकपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं, साउन २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (बुधबार) का लागि सरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी....

नेकपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं, साउन २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (बुधबार) का लागि सरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबारका लागि बैठक बोलाइएको थियो। तर, बैठकको तयारी नपुगेकाले बुधबारका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक भोलि दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो। 

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ। विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र  वेदुराम भुसाललगायतले दाबी गरेका छन्।

अन्य विभागको टुंग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ। पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन। अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन। 
 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, साउन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्