Kathmandu Press

संसद्‍मा देवेन्द्रराज कँडेल, शान्ता चौधरी र मीन विश्वकर्माको जुहारी

काठमाडौं, साउन २८ : निर्मला पन्त हत्या प्रकरणमा कांग्रेस सांसद देवेन्द्रराज कँडेल, नेकपाकी सचेतक शान्ता चौधरी र कांग्रेस सांसद् मीन विश्वकर्माबीच....

संसद्‍मा देवेन्द्रराज कँडेल, शान्ता चौधरी र मीन विश्वकर्माको जुहारी

काठमाडौं, साउन २८ : निर्मला पन्त हत्या प्रकरणमा कांग्रेस सांसद देवेन्द्रराज कँडेल, नेकपाकी सचेतक शान्ता चौधरी र कांग्रेस सांसद् मीन विश्वकर्माबीच जुहारी चलेको छ।

कांग्रेस सांसद् कँडेलले बोलेपछि नेकपा सचेतक चौधरीले आपत्ति जनाउँदै रेकर्ड मेटाउन माग गरिन्। फेरि विश्वकर्माले सभामुख कृष्णबहादुर महरालाई संसद् सही ढंगले चलाउन चुनौती दिए ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद् कँडेलले गृहमन्त्री रामबहादुर थापा बादलले केही दिनअघि ‘निर्मला हत्या प्रकरण यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका थिए।

विशेष समयमा बोल्दै कांग्रेस सांसद कँडेलले गृहमन्त्रीको उक्त अभिव्यक्तिमा आपत्ति जनाएउँदै भने, ‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईंको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ।’

कँडेलले निर्मला प्रकरण नमिता–सुनिता काण्ड जस्तै भएको भन्दै उनले त्यसबेला श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले घटना घटाएको दाबी गरे।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको एक वर्षअघि बलात्कारपछि हत्या भएको प्रकरणको विषयमा बोल्दै गृहमन्त्री रामबहादुर थापाको आलोचना गर्ने क्रममा सो आशयको अभिव्यक्ति दिएका थिए। सचेतक चौधरीले उनले बोलिनसक्दै आपत्ति जनाइन्। 

‘माननीयज्यूले सिंहदरबारबाट घटाइएको घटना भनेर त्यस्तरी पनि बोल्न मिल्छ, बोल्न मिल्ने नमिल्ने जे पनि बोल्न मिल्छ यत्तिको मान्छेले, रेकर्डबाट हटाउनुपर्छ सभामुख महोदय,’ चौधरीले भनिन्। तर सभामुखले सचिवालयलाई रेकर्ड मेटाउन आदेश दिएनन्। उनले यस िवषयमा ध्यानाकर्षण भएकाे बताउँदै पछि  निर्णय गर्ने बताए ।

कांग्रेसका अर्का सांसद मीन विश्वकर्माले सभामुखको व्यवहारप्रति आपत्ति जनाए। ‘संसदमा एक माननीय सदस्यलाई बोलिरहेको बेला अर्का माननीय सदस्यलाई समय दिएर जुहारी गराउन मिल्दैन,’ शान्ताले बोलेलगत्तै विश्वकर्माले आपत्ति जनाए। 

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, साउन २८, २०७६