Kathmandu Press

‘विप्लवसँग निरन्तर छलफल भइरहेको छ’

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन्। गृह मन्त्रालयमा...
‘विप्लवसँग निरन्तर छलफल भइरहेको छ’

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन्। 

गृह मन्त्रालयमा पत्रकारमाझ उनले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गरेको बताए।

विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिएका छन्। गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै  पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताए।

चन्द समूहका नेता-कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो। 

महान्यायाधिवक्ता, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उनीहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाँणले भने, ‘वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गरौं भन्ने भएको छ।’
 
उनले भने, ‘एउटै व्यक्तिलाई छरसातवटा समेत मुद्दा लागेको छ, बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौँ।’ सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले  विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पारे। 

गृहमन्त्री खाँणले भने, ‘सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौँ भन्ने हाम्रो प्रयत्न छ।’

प्रकाशित मिति: १८:४३ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्