पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको आग्रह
काठमाडौं, कात्तिक १३ : ६ वटा विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको फिर्ता गर्न नेपाल आयल निगमसँग माग गरेका छन्।अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा...
काठमाडौं, कात्तिक १३ : ६ वटा विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको फिर्ता गर्न नेपाल आयल निगमसँग माग गरेका छन्।
अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले आज एक संयुक्त विज्ञप्ति जारी गरेर मूल्यवृद्धिको फिर्ता लिन माग गरेका छन्।
मूल्यवृद्धिका कारण नेपाली जनजीवनलाई कठिन बनाएको ठहर गर्दै ती संगठनले मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’
अन्तर्रास्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति विद्यार्थी संगठनहरुले कडा आपत्ति जनाएका छन्।












