विदेशी लगानी नआए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैले बनाउँछ: मन्त्री योगेश
काठमाडौं, साउन २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा निर्माणाधीन निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यसै ....
काठमाडौं, साउन २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा निर्माणाधीन निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यसै वर्षदेखि सुरू हुने बताएका छन्।
मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यही वर्षदेखि काम सुरू गर्ने बताएका हुन्। निजगढको विकल्प निजगढ नै भएको बताउँदै उनले भने, ‘२५ वर्षमा शिलान्यास गर्ने ठाउँसम्म पुर्याउछौ, मंसिरमा शिलान्यास गर्छौं।’
अब अन्योलता हटाउन मंसिरको लक्ष्य राखेको उनको भनाइ थियो। अहिले अन्तरमन्त्रालय छफफल गरेर गाँठो फुकाउने काम सुरू भएको उनले बताए। बुधबार वन मन्त्रालयसँग छलफल गरेर रुख कटानको विषयमा छलफल गर्न लागेको उनले जानकारी दिए।
उनले रुख काट्नुभन्दा पहिले विरुवा रोप्ने बताए। सबै देशवासीलाई रुख रोप्न आह्वान गर्ने बताउँदै उनले भने, ‘विमानस्थल सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा निर्माण गर्नेगरी अगाडि बढाएका छौं।’
उनले निजगढ विमानस्थलको लगानी खोज्न लगानी बोर्डले जिम्मा लिएको बताए। बोर्डले गर्न नसके पनि स्वदेशी लगानीमै निर्माण सुरु हुने उनको भनाइ थियो।
समन्वय समितिको बैठकमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले रुख कटानको विषय अगाडि बढ्न नसकेको बताए। पटक-पटक रुख कटानका लागि वन मन्त्रालयमा पत्र पठाएको भएपनि कुनै पनि निर्णय हुन नसकेको उनले बताए।
विमानस्थल पीपीपी मोडलमा निर्माण गर्नेगरी लगानी बोर्डले अगाडि बढाएको र विभिन्न देशका सात वटा कम्पनीले चासो दिएको पोखरेलले बताए।
समितिले गत असोज १३ गते विमानस्थल निर्माणस्थलको निरीक्षण पनि गरेको थियो। रुख कटान र रोप्ने, चुरे क्षेत्रको संरक्षण, स्थानीयको स्थान्तरणको विषयमा समाधान गर्न निर्देशन दिएको थियो।






