Kathmandu Press

बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार

सोलुखुम्बु, कात्तिक १३ : सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको...
बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार

सोलुखुम्बु, कात्तिक १३ : सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो। शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए।

उनका अनुसार सो अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत उद्धार गरी आज नै काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गराएको छ। स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ। सोलु दूधकुण्ड नगरपालिका– ३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो।

उद्धार टोलीले खोजी कार्य जारी राखेको भए पनि बेपत्ता शेर्पाको अवस्था अझै अज्ञात रहेको छ । उक्त टोलीले आइतबार अन्तिम पटक खोजी कार्य गर्ने कम्पनीले जनाएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरि १० जना पर्यटक हिउँमा फसेका थिए।

उनीहरुलाई दुई दिनपछि माउण्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकप्टरमार्फत लुक्ला ल्याइएको थियो।

 

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्