Kathmandu Press

सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं, कात्तिक १३ : देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज...
सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं, कात्तिक १३ : देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिबारे छलफल भएको हो।  

अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भयो। कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ।

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने पनि बैठकमा निणर्य भएको छ। त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भयो।

बैठकमा अफगान नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

गृहमन्त्री खाँणले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्ने बताए। बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की सहभागी थिए।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित थिए। समसामयिक विषयमा थप छलफल गर्न छिट्टै अर्को बैठक आइतबार पुनः बोलाइएको छ। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्