बहिर्गमित जनमुक्ति सेना नेपालले बुझायो कार्यबाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र

काठमाडौं, कात्तिक १२ : बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ ।
गृह मन्त्रालयमा शुक्रबार संगठनका इञ्चार्ज असिम आङबुहाङ लिम्बु, अध्यक्ष रमेश बसेल सहितको प्रतिनिधि मण्डलले ‘बर्हिगमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधन सम्बन्धी प्रस्तावना बारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै उहाँले माग अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने बताए ।
‘हामी तपाईहरूले ज्ञापनपत्रमार्फत बुझाएका माग अध्ययन गर्छौ । त्यसपछि के गर्न सकिन्छ भनौंला,’ खाणले भने । संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए ।
संगठनले वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा पारेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपांगहरूको बर्गिकरण गरी प्ररिचय पत्र प्रदान गर्ने, सोही परिचय पत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितहरूलाई निशर्त रिहा र आम माफी दिन पर्ने लगायतका माग राखिएको छ ।











