प्रधानमन्त्री देउवा दोहामा
दोहा, कात्तिक १२ : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न...
दोहा, कात्तिक १२ : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुगेका छन्।
नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लएका हुन्।
विमानस्थलमा उनीलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लन्डनका लागि प्रस्थान गर्नेछ। उनी लण्डनमा शनिबार र आइतबार रहने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन्।
प्रतिनिधिमण्डलमा वन तथा वातावारण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारयाण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, प्रधानमत्रीका निजी सचिव जनकराज भट्टलगायत अन्य उच्च कर्मचारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत, सञ्चारकर्मीसहित २१ जना छन्।
यही अक्टोबर ३१ देखि नोभेम्बर १२ तारेखसम्म ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलनसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ र २ तारेखमा ‘वल्र्ड लिडर समिट’ आयोजना गर्न लागेका हुन्।











