म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाबलाई दुई लाख जरिवाना
काठमाडौं, कात्तिक १२ : म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख जरिवाना गराइएको छ। काठमाडौं महानगरपालिकाले आज गरेको तिहार...
काठमाडौं, कात्तिक १२ : म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख जरिवाना गराइएको छ।
काठमाडौं महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो।
सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ। कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो।
अनुगमनमा खटिनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पुर्याउन सक्ने बताए।
‘समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,’ अध्यक्ष तिमिल्सिनाले भने। आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ। विगत पाँच दिनदेखि गरिएको अनुगमनका क्रममा समस्याबिनाको कुनै पसल फेला नपरेको बताइएको छ।











