एमाले केन्द्रीय कमिटी बैठक जारी, महाधिवेशन मापदण्ड अनुमोदन गर्ने कार्यसूची
काठमाडौं, कात्तिक १२ : एमाले केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बसिरहेको छ।बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन...
काठमाडौं, कात्तिक १२ : एमाले केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बसिरहेको छ।
बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमाले कार्यालयले जानकारी दिएको छ।
बिहीबार स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि संख्या टुंगो लगाएको छ।
स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने तय गरेको थियो।
आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट २६२ जना पदेन प्रतिनिधि हुनेछन्।
यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
एमालेले कात्तिक ६ मा वडा र ९ मा पालिका अधिवेशन सम्पन्न गरेको थियो। आजको केन्द्रीय कमिटी बैठकमा ती अधिवेशनबारे रिपोर्टिङ तथा समीक्षा गर्ने कार्यसूची पनि रहेको जनाइएको छ।
कतिपय वडा र पालिकामा भने अझै अधिवेशन हुन बाँकी छ।











