Kathmandu Press

बूढीगण्डकी प्रभावितलाई जग्गाको मुआब्जा तीन महिनाभित्र दिन सरकारलाई निर्देशन

काठमाडौं, साउन २७ : संसदीय समितिले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको जग्गाको बाँकी मुआब्जा तत्काल निर्धारण गरी तीन महिनाभित्र वितरण ....

बूढीगण्डकी प्रभावितलाई जग्गाको मुआब्जा तीन महिनाभित्र दिन सरकारलाई निर्देशन
फाइल

काठमाडौं, साउन २७ : संसदीय समितिले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको जग्गाको बाँकी मुआब्जा तत्काल निर्धारण गरी तीन महिनाभित्र वितरण गरिसक्न सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले जलविद्युत आयोजनाको जग्गाको बाँकि मुआब्जा तत्काल निर्धारण गरी तीन महिनाभित्र वितरण गरिसक्न सरकारलाई निर्देशन दिएको हो। 

आयोजनाको मुख्य प्रभावित क्षेत्र आरुघाट लगायतको जग्गाको बाँकी मुआब्जा पनि तत्काल निर्धारण गरी तीन महिना भित्र वितरण गरिसक्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्।

बैठकले आयोजनाको निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार नै अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ।

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको ९० प्रतिशत जग्गाको मुआब्जा वितरणको काम सम्पन्न गरेर बाँकी १० प्रतिशत जग्गाको मुआब्जा वितरणको काम भने बाँकी राखेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।

समितिका सदस्य एवम् पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले २०७२ सालमा निर्माण कार्य सुरु गर्ने भनि तय गरिएको सो राष्ट्रिय गौरवको आयोजनाको काम हालसम्म पनि सुरु नगरेको भन्दै सरकारको चर्को आलोचना गरिन्।

समितिका अर्का सदस्य दलबहादुर रानाले आयोजनाको जग्गाको बाँकी मुआब्जा वितरणको कामलाई सम्पन्न नगरेर सरकारले अन्यौलता थपेको भन्दै तत्काल त्यसलाई सूचारु गराउन सरकारलाई आग्रह गरे।

१२ सय मेघावाट क्षमताको सो राष्ट्रिय गौरवको आयोजना सुरुमा २ खर्ब ३० अर्ब लगानीमा सम्पन्न गर्ने अनुमान गरिएपनि हाल त्यसको लागत बढ्दै गएकोमा पनि समितिका सदस्यहरुले चिन्ता व्यक्त गरेका थिए।
 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, साउन २७, २०७६