डाका गिरोहका योजनाकार पक्राउ
डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।
महोत्तरी, कात्तिक १२ : डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।
गत ३ असार राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवान पक्राउ परेका हुन् ।
घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका पासवानलाई जिल्लाकै सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत ३ असारमा पासवानकै योजनामा हतियारधारी जत्थाले पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगदसहित लुटपाट गरी करिब नौ लाख रुपैयाँबराबरको धनमाल लुटेको थियो ।
जिल्ला प्रहरीका डीएसपी प्रकाश बिष्टका अनुसार लुुटपाटका क्रममा डाका समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै उनकी पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रड प्रहार गरी घाइते बनाएको थियो । पक्राउ परेका पासवान पेशेवर डाका रहेका र वरिपरिका जिल्लामा हुँदै आएका डकैती घटनामा संलग्न रहँदै आएको अनुसन्धानले देखाएको डीएसपी बिष्टले जानकारी दिए ।
पासवान पक्राउ परेपछि महोत्तरीसहित आसपासका जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् । पुख्र्यौली घर धनुषाको झिजा भएका पासवानको परिवारलाई सरकारले चार दशकअघि डकैती पेशा छाडेर घरगृहस्थी गर्ने शर्तमा घडेरीसहित खेतीबारी गर्ने जग्गासमेत उपलब्ध गराएर लालबन्दीमा पुनर्बासमा बसाएको थियो । तर, उनले डकैती छाडेका थिएनन् । उनी धनुषादेखि रौतहटसम्म र यदाकदा सीमापारि भारतमा हुने डकैतीका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ ।











