बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने
गलेश्वर, कात्तिक १२ : गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।नियमित सडक सञ्चालन गर्दा विस्तारमा...
गलेश्वर, कात्तिक १२ : गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।
नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द गरेर काम गरिने भएको हो। बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।
उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ। त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ।
उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उनले बताए।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो। हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ।
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्रगतिमा अगाडि बढाइएको छ। झण्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण सुरु गरिएको हो। (रासस)











