प्राध्यापकले नै गरे काठमाडौं विश्वविद्यालयमा तालाबन्दी
काठमाडौं, साउन २६ : धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा प्राध्यापकहरूले नै तालाबन्दी गरेका छन्। आइतबार प्राध्यापकहरूको समूहले विश्वविद्यालयका उपकुलप....
काठमाडौं, साउन २६ : धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा प्राध्यापकहरूले नै तालाबन्दी गरेका छन्। आइतबार प्राध्यापकहरूको समूहले विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा तालाबन्दी गरेको हो।
विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै विश्वविदालय प्राध्यापक संघले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको हो। यस अघि बिहीबार संघले स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीन कार्यालयको मूल ढोकामा तालाबन्दी गरेको गरेका थिए।
उनीहरूले तालाबन्दी गर्नु अघि उपकुलपति र रजिस्ट्रार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निक्लन आग्रह गरेका थिए। उपकुलपति प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ तालाबन्दी गर्नु दुई मिनेटअघि मात्रै कार्यकक्षबाट बाहिरिएका थिए।
काठमाडौँ विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको सङ्घका अध्यक्ष डा.वेदमणि दाहालले बताए। सङ्घ पदाधिकारी तथा केही कर्मचारीले हिजोदेखि विश्वविद्यालयमा सञ्चालित परीक्षासमेत बहिष्कार गरेका छन्।
काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार÷अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्ने माग गरेका छन्।
त्यस्तै, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नेलगायतका विषयमा विश्वविद्यालय प्रशासनसँग सम्झौता भएको सङ्घले जनाएको छ।






