Kathmandu Press

१३ वाणिज्य बैंकको एक वर्षको नाफा पौने ३० अर्ब

काठमाडौं, साउन २६ : नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष बैंकको नाफामा असर पने बताइरहेका बेला केही बैंक भन्ने निश्चिन्त छन्। किनकि, उनीहरूले गत वर्ष ....

१३ वाणिज्य बैंकको एक वर्षको नाफा पौने ३० अर्ब
काठमाडौं प्रेस

काठमाडौं, साउन २६ : नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष बैंकको नाफामा असर पने बताइरहेका बेला केही बैंक भन्ने निश्चिन्त छन्। किनकि, उनीहरूले गत वर्ष मनग्य नाफा कमाएका छन्।

गत आर्थिक वर्षमा १३ वटा वाणिज्य बैंकले अघिल्लो वर्षभन्दा पाँच अर्ब ५८ करोड १० लाख २८ हजार रुपैयाँ नाफा बढाएका छन्। वित्तीय विवरण सार्वजनिक गरेका १३ वाणिज्य बैंकले आर्थिक वर्षमा २०७५/७६ मा २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको देखिएको छ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन सच्याउन माग गरेको बताए। उनका अनुसार राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने निर्देशन दिएको बताए।

बफर पूँजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफामा २५ प्रतिशत अर्थात ३० अर्बले संकुचन आउने भएकाले सच्याउन माग गरेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा नाफा २३.०८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष १३ बैंकको नाफा २४ अर्ब १७ करोड २३ लाख १६ रुपैयाँ रहेको थियो।

सबैभन्दा धेरै कृषि विकास बैंकले चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले तीन अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो। जुन नाफा १९.१५ प्रतिशतले बढी हो।

त्यस्तै, प्रभु बैंकको नाफा वृद्धि सबैभन्दा बढी देखिन्छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा एक सय १२ प्रतिशतले नाफा बढाएको छ। प्रभु बैंकले ०७४/५ मा  ९६ करोड ७० लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष भने दुई अर्ब पाँच करोड पाँच लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ।

यस्तै, एभरेस्ट बैंकले १७ प्रतिशत नाफा बढाएको छ। बैंक अफ काठमान्डूले ४६.७० प्रतिशत नाफा बढाउँदा माछापुच्छ्रे बैंकको ३६.३२ प्रतिशत रहेको छ। त्यस्तैगरी नेपाल बैंकको नाफा भने १८ प्रतिशतले घटेको छ।

नेपाल बैंकले आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ रहेको नाफा कमाएको थियो भने गत आर्थिक वर्षमा दुई अर्ब ६१ करोड १९ लाख ८० रुपैयाँ नाफा कमाएको छ।

 

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, साउन २६, २०७६