राष्ट्रपतिको भूमिका निष्पक्ष भएन, राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ : अध्यक्ष जबरा
काठमाडौं, साउन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा राष्ट्र प्रमुखका रुपमा रहेका राष्ट्रपतिको....
काठमाडौं, साउन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा राष्ट्र प्रमुखका रुपमा रहेका राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई त्यो भूमिकामा राख्नु पर्ने बताएका छन्।
अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकाले उनीहरुको भूमिका निष्पक्ष हुन नसकेको बताए। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भइसक्यो। अहिलेका राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेनन्।’
अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखका लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए। उनले भने,‘राष्ट्रपतिले आफ्नो सोख पूरा गर्नका लागि अहिले पुलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो।’
उनले निष्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकाले राजसंस्थाजस्तो पुरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि बताए। उनले भने,‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं। यसमा बहस पैरवी हुनुपर्छ।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीबारे सोधिएको प्रश्नमा उनले भने,‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो। कसैले पनि बोल्नलाई रोक्न सक्दैन। तर, धम्की नै दिएर यो गर, ऊ नगर भनेर भन्नु चाहीँ हुँदैन। राजाले म फर्किन्छु भनेर हिँडेका छैनन्। कतै भाषण पनि गरेका छैनन्। उनी जता जान्छन् त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो।’






