आफू एमालेमै रहेको पूर्वसभासद हीराबहादुर केसीको स्पष्टोक्ति
काठमाडौं, कात्तिक ७ : प्यूठान–२ बाट २०७० को आम निर्वाचनमा विजयी संविधानसभा सदस्य हीराबहादुर केसीले आफू एमालेमै रहेको घोषणा गरेका छन्।उनले आज (आइतबार)...
काठमाडौं, कात्तिक ७ : प्यूठान–२ बाट २०७० को आम निर्वाचनमा विजयी संविधानसभा सदस्य हीराबहादुर केसीले आफू एमालेमै रहेको घोषणा गरेका छन्।
उनले आज (आइतबार) एक हस्तलिखित प्रेस विज्ञप्ति जारी गरेर आफू एमालेप्रति निरन्तर प्रतिबद्ध रहेको र विभाजनको पक्षमा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेका छन्।
एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) ले जारी गरेको अन्तरपार्टी निर्देशनमा आफूलाई केन्द्रीय अनुशासन आयोगको सदस्य राखेकोमा उनले आश्चर्य र असन्तुष्टि प्रकट गरेका छन्।
‘नेकपा एमालप्रति निरन्तर प्रतिबद्ध छु। यसबीचमा पार्टी विभाजन गरी बनेको गुटको कथित केन्द्रीय अनुशासन आयोगको सदस्यमा राखेको भनी अन्तरपार्टी निर्देशन जारी गरेको सुन्दा आश्चर्य लागेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइनँ, छैन र संलग्न हुन सक्दिनँ।
२०७० सालमा संविधानसभा सदस्य निर्वाचित गर्ने एमालेमै आफू रहेको उनको स्पष्टोक्ति छ।












