उदयपुरका आधा दर्जन गाउँ पहिरोको जोखिममा
गाईघाट, साउन २५ : उदयपुरको रौतामाई गाउँपालिका क्षेत्रका आधा दर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन्।
गाउँपालिकाको वडा नम्ब....

गाईघाट, साउन २५ : उदयपुरको रौतामाई गाउँपालिका क्षेत्रका आधा दर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन्।
गाउँपालिकाको वडा नम्बर-५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए।
गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
यस्तै, अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नम्बर ५ का वडाध्यक्ष पाण्डब राईले बताए। केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन्।
जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएर स्थानीयवासीलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन शुरु गरेको अध्यक्ष खड्काको भनाइ छ।

-1784896419.png)









