Kathmandu Press

कञ्चनपुमा मातृशिशु सुरक्षाका लागि सञ्चालित आयुर्वेद कार्यक्रम प्रभावकारी

कञ्चनपुमा मातृशिशु सुरक्षाका लागि सञ्चालित आयुर्वेद कार्यक्रम प्रभावकारी

कञ्चनपुर, कात्तिक ७ : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आयुर्वेद औषधालयले मातृशिशु सुरक्षाका लागि सञ्चालन गरेको दुग्धबर्धब जडीबुटी वितरण कार्यक्रम प्रभावकारी हुन थालेको छ।

स्तनपानको महत्व आमाहरुलाई बुझाउन थालिएकाले यस कार्यक्रमले लोकप्रियता पाउन थालेको हो। सुत्केरीको लगत सङ्कलनसँगै महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय राखी आवश्यक अभिमुखीकरण तालिम दिन थालेपछि सेवा लिने आमाहरु बढ्न थालेको औषधालयका कविराज जयराम साहले बताए।

‘कार्यक्रमअन्तर्गत सुत्केरी महिलाहरुको पर्याप्त दूध बढाउनका लागि निःशुल्क रुपमा छ महिनासम्म शतावरी (कुरिलो चूर्ण) उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने, ‘तत्काल सुत्केरी भएका आमालाई एक महिनासम्म दशमूल तेल पनि मालिस गर्नका लागि दिने गरिएको छ।’

Hardik ivf

शतावरी चूर्णको प्रयोग र दशमूल तेल मालिसले आमा र बच्चाको स्वास्थ्यमा  सुधार हुनाका साथै कुपोषणजन्य रोगबाट जोगाउन मद्दत पुगेको छ। ‘शतावरीचूर्ण, दशमूलको प्रयोगबाट शिशु र आमाको स्वास्थ्यमा सुधार हुन्छ,’ कविराज साहले भने, ‘यो चूर्णको प्रयोगले स्तनपान गराउने आमाहरु आफ्ना शिशुलाई स्तनपान गराउनसमेत उत्प्रेरित हुन्छन् । यसबाट शिशुको शारीरिक र मानसिक विकासमा सघाउ पुग्ने गर्दछ ।’

शिशुका लागि आमाको दूध पर्याप्त उत्पादन हुने भएकाले बाल मृत्यदर घटाउन मद्दत पुग्छ। मातृ स्वास्थ्यसमेत सबल रहन्छ। कार्यक्रमअन्तर्गत चालु आवमा ८० भन्दा बढी महिलालाई शतावरी चूर्ण र दशमूलको तेल वितरण गरिएको छ। गत आवमा एक सय ७० भन्दा बढी आमाले सो सेवा लिएका थिए। झलारीका कलावती चौधरीले सुत्केरी भएपछि आफूमा दूध थोरै मात्रै हुने समस्या रहेको बताइन्।

‘मजदुरी गरेर जीविका चलाउँदै आएका छौँ । बच्चा जन्मिएपछि पोषिलो खानाको अभावमा पर्याप्त दूध नहुँदा शिशुसमेत कमजोर बन्दै गएको थियो,’ उनले भनिन्, ‘आयुर्वेद औषधालयबाट औषधि ल्याएर खाएपछि दूध बढेको छ । शिशुसमेत हलक्क बढ्दै गएको छ ।’

यसैगरी उक्त औषधालयले ज्येष्ठ नागरिकको स्तरीय जीवनयापनका लागिसमेत कार्यक्रम सञ्चाल गर्दै आएको छ। स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई अश्वगन्धा र गुडुची चूर्ण उपलब्ध गराउँदै आएको हो।

सेवा लिन आउने ज्येष्ठ नागरिक सेवाग्राहीको पहिचान गरी नियमित रुपमा स्वास्थ्य जाँच गर्ने तथा स्वास्थ्य प्रवद्र्धन गर्न औषधि वितरण  हुँदै आएको औषधालयका कविराज शाहले बताए। ‘ज्येष्ठ नागरिकका शारीरिक जाँच गरी पूर्वकर्म तथा अन्य आवश्यक कर्म, रसाइन र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, तथा प्रवद्र्धन गर्ने कार्य गर्दै आएका छौँ,’ उनले भने, ‘ज्येष्ठ नागरिकहरुले नियमित रुपमा आवश्यक सेवा लिनाका साथै औषधोपचार गर्दै आएका छन्।’

पूर्वकर्म, योग, उपयुक्त आहारविहार अपनाएर जीवनशैली परिवर्तन गरी स्तरीय जीवनयापन गर्नका लागि परामर्श दिने कार्यसमेत हुँदै आएको छ। चालु आवमा एक सय ६४ ज्येष्ठ नागरिकलाई यस कार्यक्रमअन्तर्गत सेवा उपलब्ध गराइएको छ ।पूर्वकर्मअन्तर्गत पाँच ज्येष्ठ नागरिकलाई शिरोधारा र कटीबस्ती सेवा प्रदान गरिएको छ। ज्येष्ठ नागरिक र स्तनपान गराउने आमाहरुका लागि औषधालयले तीन वर्षदेखि नियमित रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्