Kathmandu Press

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध

भक्तपुर, कात्तिक ७ : चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ। नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।  नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पु¥याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको  सूचनामा जनाइएको छ।

Hardik ivf

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेकी छन्।

आगामी मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले जानकारी दिइन्। अहिले चाँगुनारायणका विभिन्न ठाउँमा  व्यावसायिकरूपमा बङ्गुर फार्म सञ्चालनमा छन्।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभइ बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ।

 

प्रकाशित मिति: ०९:२१ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्