प्रदेश ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने
हेटाैँडा, साउन २५ : प्रदेश ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ। घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थ....
हेटाैँडा, साउन २५ : प्रदेश ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ। घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी सरकारले स्कूल बस सञ्चालन गर्न लागेको हो।
सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजनसमेत गरिसकेको छ। सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः संख्या वृद्धि गर्दै लैजाने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।
सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताए।
हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक-एक बस उपलब्ध गराउन लागिएको छ। विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो।






