टि–२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि ५ विकेटको जित

काठमाडौं, कात्तिक ६ : युएई र ओमानमा जारी टि–२० विश्वकपमा आजबाट सुपर १२ का खेल सुरु भएको छ। सुपर १२ पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ।
शनिबार अबुधाबीमा भएको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि ५ विकेटको सहज जित निकाल्यो। पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको ११९८ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।
अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाउँदा मार्कस स्टोइनिसले सर्वाधिक २४ रन नटआउट रहे। स्मिथले ३४ बलमा ३ चौका प्रहार गरे भने स्टोइनिसले १६ बलमा ३ चौका नै प्रहार गरे।
यस्तै, ग्लेन म्याक्सवेलले १८ रन बनाउँदा म्याथु वेडले १५ र डेविड वार्नरले १४ रन बनाए। दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले २ तथा कागिसो रबाडा, केशव महाराज र तब्रिज सामसीले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सकेको थियो। उसका ऐइडन मार्करमले सर्वाधिक ४० रन बनाउँदा कागिसो रबाडाले १९ र डेविड मिलरले १६ रनको योगदान दिए।
दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा मिचेल स्टार्क, एडम जम्पा र जोश हेजल उडले समान २ विकेट लिँदा ग्लेन म्याक्सवेल र पाट कमन्सिले समान १ विकेट लिए।











