त्रिशूली नदीमा बस दुर्घटनाः मृतकको संख्या ९ पुग्यो, २० बढी बेपत्ता
धादिङ, साउन २५ : धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
मृतकमध्ये पाँच....

धादिङ, साउन २५ : धादिङको बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन। मृतकमध्ये सर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी, राजनारायण राैनियार, उनकी श्रीमती शोभा र साैरभ राैनियारकोमात्रै सनाखत भएको छ।
शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको थियो।
प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दुर्घटनामा चार जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो। यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो।
पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो। केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए। दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ।
बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए। दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले जानकारी दिए।

-1784896419.png)









