Kathmandu Press

हङकङमा भएको विशाल लेजर प्रदर्शन के हो ?

एक जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको विरोधमा सयौं मानिसले हङकङमा “लेजर शो” गरेका छन्। ती विद्यार्थी नेताले “लेजर प्वाइन्टर”को झोला बोकेका थ....

हङकङमा भएको विशाल लेजर प्रदर्शन के हो ?

एक जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको विरोधमा सयौं मानिसले हङकङमा “लेजर शो” गरेका छन्। ती विद्यार्थी नेताले “लेजर प्वाइन्टर”को झोला बोकेका थिए। आक्रामक हतियार राखेको भन्दै उनलाई गिरफ्तार गरिएको हो।

प्रहरीले ब्याप्टिस्ट युनिभर्सिटीको विद्यार्थी युनियनका प्रमुख किथ फोङको गिरफ्तारीलाई जायज बताएको छ। उनले बोकेको लेजरले पत्रिका जलाउन सक्छ भनेर प्रहरीले देखायो।

बुधबार राति प्रदर्शनकारीहरू स्पेस म्युजियमको “प्लानेटरियम”मा भेला भए। लेजरको प्रयोग गरेर उनीहरूले बाहिर भएका भवन र रूखमा आगो लगाएको अभिनय गरे। उनीहरूले दर्जनौं लेजर बिम भवनको बाहिरी भित्तामा देखाउँदै “फायर, फायर, नट अन फायर” नारा लगाए।

Hardik ivf

मंगलबारको सो घटना ट्रोल गर्दै प्रदर्शनकारीले एउटा “प्रो बेइजिङ” समाचारमा दर्जनौं लेजर बिम लगाएर आगो लगाउने प्रयास गरे। तर उनीहरू सफल भएनन्। प्रदर्शनकारीले प्रहरीको आँखा र क्यामेरामा देखाउने लेजर खतरनाक आक्रामक हतियार भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीको उक्त भेला पछि एउटा पार्टीमा र “कार्निभल” मा रूपान्तरण भयो। सहभागीहरूले गीत गाए, नाचे । “प्लानेटरियम”को एकापट्टी हातको छायाँले कठपुतली प्रदर्शन पनि भयो। शहरको स्वतन्त्रतामा बेइजिङको बढ्दो अतिक्रमणविरूद्ध भर्खरै भएका जनविरोधको तनावपूर्ण माहौलभन्दा यो लेजर प्रदर्शन एकदमै भिन्न थियो।

“हामी सबैलाई चाहिएको थियो: आँशु थिएन, रगत थिएन। मात्रै हाँसो, गीत र नृत्य। अर्को पटक घर आउँदा म यो थ्रेड फेरि हेर्नेछु। मेरो शरीरबाट अश्रु ग्याँसको गन्ध आइरहेको हुनेछ। कानमा चित्कार गुञ्जिएको हुनेछ। यो हामीले माया गर्ने शहर हो। त्यसैले हामी यस्तो गर्छौं,” लेखक रायन हो किलप्याट्रिकले ट्वीट गरे।

सामाजिक सञ्जालभरि सबैको यही साझा भावना थियो। केही सातादेखि हङकङमा तनाव जारी छ। प्रहरीसँग भएको झडमा करीब दुई हजार राउण्ड अश्रुग्याँस प्रहार गरिए। स्थानीयलाई तनावबाट केही राहत पनि आवश्यक थियो।

सन् १९९७ मा चिनियाँ शासनमा फर्किएपछि शहरमा सबैभन्दा ठूलो राजनीतिक संकट आएको छ। अप्रत्याशित विरोध बढ्दै गएपछि संयुक्त अधिराज्य, आयरल्यान्ड, अष्ट्रेलिया, जापान र अहिले अमेरिका लगायतका देशले यात्रामा सावधानी अपनाउन सूचना जारी गरेका छन्।

हाल स्थगित सुपुर्दगी कानूनको विरोधमा प्रदर्शन सुरू भएको हो। प्रस्तावित कानूनमा अपराधका संदिग्धलाई मूलभूमि चीनका अदालतमा उभ्याउने व्यवस्था गरिएको थियो। यो प्रदर्शनले वृहत रूप लिएको छ। एसियाली आर्थिक केन्द्रको सरकारविरूद्ध प्रदर्शन हुन थालेको छ। बेइजिङस्थित चीनको कम्युनिष्ट पार्टीका नेताको बढ्दो नियन्त्रणले स्वतन्त्रता खस्किने भयले धेरै स्थानीय विरोध प्रदर्शनमा सहभागी भएका छन्।

सीमापारी चीनको दक्षिणी शहर शेन्जेनमा सरकारी अधिकारीहरू उक्त राजनीतिक संकटबारे बहसमा तल्लीन छन्। हङकङ र मकाउ मामिलाका प्रमुख तथा बेइजिङका शीर्ष नेता झाङ स्याओमिङले “हङकङलाई रसातालमा डुब्नबाट बचाउन” यो “दबावमूलक र नियन्त्रण गर्ने कार्य भएको” बताए।

विरोध प्रदर्शन हङकङ सरकारको नियन्त्रणभन्दा बाहिर गए कानून र व्यवस्था पुर्नस्थापना गर्न चिनियाँ सेना परिचालन गर्न सकिने पनि बताए।

प्रदर्शनकारीको मागसामु शिर झुकाए संकट समाधान नहुने झाङले बताए। तर शहरमा सुव्यवस्था पुनर्स्थापना भएपछि हङकङ सरकारले सुपुर्दगी विधेयकबारे जाँचबुझ आयोग स्थापना गर्ने सम्भावनाको ढोका पनि उनले खुल्लै छाडेका छन्।

मूलभूमिका अधिकारी र सञ्चारमाध्यमको खरो चेतावनीका बाबजुद प्रदर्शनकारी टसमस भएका छैनन्। उनीहरूले विरोधमात्रै होइन हङकङको झर्रो व्यङ्ग्य ब्रान्ड र सामाजिक सञ्जालको जनसम्पर्क अभियानलाई प्रतिरोधको औजारको रूपमा प्रयोग गरेका छन्।
 

प्रकाशित मिति: ०७:१७ बजे, शनिबार, साउन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्