Kathmandu Press

तीन वर्षमा २९ नगरवासीले काजकिरिया खर्च बुझे (८ लाख ३७ हजार)

चापाकोट नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाका अनुसार, तीन वर्षमा २९ जनालाई ८ लाख ३७ हजार रुपैयाँ रकम काजकिरिया खर्चका लागि दिइएको छ।
तीन वर्षमा २९ नगरवासीले काजकिरिया खर्च बुझे (८ लाख ३७ हजार)

काठमाडाैं, कात्तिक ६ : गण्डकी प्रदेश, स्याङ्जा जिल्लास्थित चापाकोट नगरपालिकाले विभिन्न कालगतिले मृत्यु हुन पुगेको व्यक्तिका परिवारका सदस्यलाई काजकिरिया खर्च दिँदै आइरहेको छ ।

चापाकोट नगरपालिका प्रमुख शिवकुमार गिरी आफू जनप्रतिनिधि भएपछि नगरपालिका भित्रका गाउँहरू घुमेका थिए । त्यस क्रममा मृत्युपछि शव उठाउन नसक्ने, काजकिरिया खर्च नभएका केही परिवारलाई भेटेको उनी बताउँछन् । ‘त्यसपछि मैले नगरवासीको सेवाका लागि काजकिरिया खर्च दिने योजना बनाएको हुँ,’ प्रमुख गिरी भन्छन्, ‘आर्थिक अवस्था न्यून भएका नगरवासीलाई यस योजना निकै प्रभावकारी बन्यो ।

आर्थिक अवस्था न्यून भएका नगरवासीलाई न्यूनतम एक हजारदेखि ५० हजार रुपैयाँसम्म दिने व्यवस्था गरिएको उनले बताए । ‘मृत्युपश्चात् अन्तिम संस्कारदेखि काजकिरिया गर्नका लागि पैसा दिइन्छ,’ मेयर गिरी भन्छन्, ‘मृत्यु भएपछि परिवारका सदस्यले वडामा निवेदन दिएपछि त्यस आधारमा काजकिरिया रकम भुक्तानी गरिन्छ ।’

Hardik ivf

तीन वर्षमा ८ लाख ३७ हजार काजकिरिया खर्च

चापाकोट नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाका अनुसार, तीन वर्षमा २९ जनालाई ८ लाख ३७ हजार रुपैयाँ रकम काजकिरिया खर्चका लागि दिइएको छ । ‘आय आर्जन न्यून भई काजकिरिया खर्च जुटाउन नसक्ने परिवारलाई यो खर्च दिइएको हो,’ उनले काठमाडौं प्रेसलाई फोनमा भने, ‘दुई–चार जना बसेर वडामा सिफारिस पेस गरेमा रकम दिन्छौं ।

 

न्यून आय भएकाका लागि के गर्दै छ ?

पछिल्लो समय स्थानीय सरकारले नगरवासीका सेवा सुविधाका लागि विभिन्न योजना ल्याइरहेका छन् । जसमध्ये कतिपय स्थानीय सरकारले विभिन्न रोगको उपचारका लागि व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् । कोरोना महामारी सुरु भएलगत्तै विशेषतः स्थानीय सरकारको काँधमा संक्रमण रोकथामको जिम्मेवारी परेको थियो । यस क्रममा स्थानीय सरकारहरूले आ–आफ्नै बलबुता र विवेकले विभिन्न योजना ल्याए । अब राज्यको समृद्धि र सामाजिक न्यायमा स्थानीय सरकारहरूको बजेट र कार्यक्रम नै मूलभूत रूपमा प्रधान रहनेमा दुईमत छैन ।

चापाकोट नगरपालिकाले विभिन्न कालगतिले मृत्यु हुनेको परिवार, जो आर्थिक रूपमा कमजोर छन्, उनीहरूलाई काजकिरिया खर्च दिएको छ, यो एक किसिमले सकारात्मक कार्य हो । तर, प्रमुख प्रश्न यो हो— न्यून आय भएका नगरवासीको आयआर्जन बढाउन नगरपालिकासँग के कस्तो बजेट, नीति कार्यक्रम तथा योजना छ त ?

नगरप्रमुख शिवकुमार गिरी जग्गाजमिन कम भएका र आयस्रोत नभएकाहरूलाई विभिन्न सीपमूलक तालिम दिइरहेको बताउँछन् । प्रमुख गिरी भन्छन्, ‘आयस्रोत बढाउन सिलाइबुनाई, टपरी बनाउने र ब्युटिपार्लरको तालिम दिइएका छौँ ।’

उनका अनुसार, पछिल्लो समय चापाकोट नगरपालिकामा आलुखेतीलाई बढी महत्त्व दिइएको छ । आलुखेती गर्ने कृषकका लागि कोल्डस्टोर बनाउन बजेट छुट्ट्याइएको उनको भनाइ छ । ‘कोल्डस्टोर बनाउनका लागि ४५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ,’ उनले भने, ‘आलु उत्पादन र स्टोरको व्यवस्था भएमा कृषकलाई कृषि पेसा गरिरहन प्रोत्साहन मिल्छ । जग्गा भएकाहरूले कृषि पेसा गरिरहँदा आम्दानी स्रोत कायम रहन्छ । जग्गा नभएकाहरूलाई विभिन्न तालिम दिई आयस्रोत बढाउन नगरपालिका लागिपरिरहेको छ ।’

क्षेत्रफल १२०.५९ वर्ग किमि रहेको चापाकोट नगरपालिकामा १० वटा वडा छन् । यहाँको जनसंख्या २६ हजार ४२ रहेको नगरपालिकाको तथ्यांक छ ।

प्रकाशित मिति: ११:२८ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्