राष्ट्रिय परिचयपत्र वितरण रोक्न कांग्रेसको माग
काठमाडौं, साउन २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ।
कान....
काठमाडौं, साउन २४ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ।
कानुन निर्माणका विषयमा संसदीय समितिमा छलफल भइरहेका बेला परिचय पत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै कांग्रेसका सांसदहरुले तत्काल रोक्न सरकारसँग माग गरेका हुन्।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको भन्दै तत्काल रोक्न माग गरे।
उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेको दाबी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई आग्रह गरे। अर्र्बाैंको बजेट खर्च गरेर सो परिचय पत्र छपाइको काम सरकारले सुरु गरेपनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेकाले त्यसबारे सरकारले स्पष्टिकरण दिनुपर्ने बडुको भनाइ छ।
बैठकमा कांग्रेसकै सांसद डा. अमरेशकुमार सिंहले कानुन विपरीत राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाएका थिए। उनले कानुन नै नबनाएर कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो? भन्ने सरकारलाई प्रश्न पनि गरे।
यस्तै, कांग्रेसकै सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको आरोप लगाए।
उनले समितिमा विचाराधीन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई आग्रह गरे।
बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए।






