एचआईभी संक्रमितको स्वास्थ्य बीमा
भरतपुर, साउन २४ : स्थानीय सरकारहरूले चितवनका एचआईभी संक्रमितहरूको स्वास्थ्य बिमा गर्न सुरू गरेका छन्। शुक्रबारसम्म जिल्लाका एक सय १० ....

भरतपुर, साउन २४ : स्थानीय सरकारहरूले चितवनका एचआईभी संक्रमितहरूको स्वास्थ्य बिमा गर्न सुरू गरेका छन्। शुक्रबारसम्म जिल्लाका एक सय १० जना संक्रमितको स्वास्थ्य बिमा गरिएको छ।
स्थानीय सरकारहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बिमा गरेका हुन्। भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ/आठ र खैरहनी नगरपालिकाले पाँच जनाको स्वास्थ्य बिमा गरेको भरतपुर अस्पतालस्थित एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले बताए।
उनका अनुसार भदौबाट लागू हुनेगरी उनीहरुको बिमा गरिएको हो। संक्रमितहरुको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बिमा गरिएको उनले बताए।
अहिले चितवनमा एक हजार सात सय २९ जना सङ्क्रमित छन्। उनीहरूमध्ये आठ सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन्।
जिल्लामा रहेका सबै संक्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहहरूसँगको समन्वय गरी बिमा कार्यक्रम सुरू गरिएको सापकोटाले बताए। अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि सङ्क्रमितको बिमा स्थानीय तहले गर्नेछ।
सन् २०१९ को जनवरीदेखि जुनसम्म सात हजार आठ सय एक जनाको नमुना परीक्षण गर्दा ५४ जना सक्रमित भेटिएका छन्।

-1784896419.png)









