पहिरोले गाउँ नै जोखिममा, ३५ परिवार घर छाड्दै
बाजुरा, साउन २४ : गाउँको बीचमा पहिरो बग्न थालेपछि बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ जोखिममा परेको छ। स्थानीय बासिन्दा घर छाड्न थालेका छ....

बाजुरा, साउन २४ : गाउँको बीचमा पहिरो बग्न थालेपछि बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ जोखिममा परेको छ। स्थानीय बासिन्दा घर छाड्न थालेका छन्।
पाँच दिनयता नियमित पहिरो बग्न थालेको स्थानीय बासिन्दाले बताए। उनीहरूका अनुसार, गाउँनै जोखिममा परेपछि स्थानीय बासिन्दा सकसमा परेका छन्।
अन्द्राडी जिल्लाकै विकट र दुर्गम गाउँ हो। यो गाउँ पुग्न जिल्ला सदरमुकाम मार्तडीबाट पैदल हिँडेरै दुई दिन लाग्छ।
गाउँपालिकाको केन्द्र घटमुनाबाटै हिँडेर डेढ दिन लाग्ने गरेको अन्द्राडी नजिकै अम्लीसगाउँका स्थानीयवासी हिक्मत रोकायाले बताए। गाउँमा ३५ परिवारको बसोबास छ।
तलतिर खोला र माथि जङ्गलसहितको पहाड छ। माथिको पहाड पहिरोसँगै बग्न थालेपछि सिङ्गो गाउँ नै त्रसित बनेको स्थानीय धनबहादुर बोहराले बताए। ‘रातभर निद्रै लाग्दैनँ। पालोपालो गरेर जाग्राम बस्ने गरेका छौं,’ उनले भने।
गाउँका १५ घरपरिवार एकातिर र अरु परिवार एकातिर हुने गरी बीचमा पहिरो बगिरहेको छ। तीमध्ये १३ परिवारले तत्काल घर छाड्नुपर्ने अवस्था छ। नजिकै गोठ छाना पनि नभएको र सबै परिवार गएर बस्न मिल्ने ठूलो चौर नहुँदा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ।
‘सिङ्गो घर छोडेर टाढा जाने अवस्था पनि छैन, भएभरको श्रीसम्पत्ति घरमै छ, त्यो सबै त्यागेर अन्यन्त्र जान पनि स्थानीयवासी तयार छैनन,’ धनबहादुरले भने। ढिलोचाँडो सिङ्गो गाउँ पहिरोसँगै बग्ने अवस्था रहेको उनको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष सीता थापा भने पहिरोको अवस्था अध्ययन गरेर फर्किएकी छन्। अन्द्राडीसहित अन्य धेरै गाउँहरु उच्च जोखिममा रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक पहल गरिने उपाध्यक्ष थापाले बताइन्।
घाम लागेको बेला रोकिएजस्तो भए पनि पानी पर्ने बित्तिकै पहिरो बग्ने गरेको छ। जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई अर्को स्थानमा सार्न पहल थालिएको वडा सदस्य हर्क बोहराले बताए।

-1784896419.png)









