धनकुटामा सडक अवरुद्ध हुँदा समस्या
धनकुटा, कात्तिक ३ : धनकुटाको चौबिसे गाउँपालिकाको बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा घाइते भएकालाई सडक अवरुद्ध भएका कारण उपचारका लागि अस्पताल...
धनकुटा, कात्तिक ३ : धनकुटाको चौबिसे गाउँपालिकाको बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा घाइते भएकालाई सडक अवरुद्ध भएका कारण उपचारका लागि अस्पताल लैजान समस्या भएको छ।
लगातारको वर्षाका कारण भेडेटार-छनम्बर बुधबारे सडक खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा घाइतेलाई उपचारका लागि लैजान समस्या भएको प्रहरीले जनाएको छ।
मङ्गलबार राति करिब १२ बजे घर माथिबाट खसेको पहिरोले स्थानीयवासी भीमबहादुर श्रेष्ठको घर पुरिँदा उनीसहित घरमा सुतेका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
पहिरोले पुर्दा ६० वर्षीय भीमबहादुरसहित उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठलाई उपचारमा लैजान समस्या भएको हो।
घाइते भेषबहादुर, लीला र गणितकुमारीको अवस्था गम्भीर भए पनि दिउँसोसम्म उनीहरुलाई अस्पताल पुर्याउन सकिएको छैन। स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको सामान्य उपचार भइरहेको छ।
घाइतेलाई सडकबाट उपचारका लागि पठाउन समस्या भएपछि नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर मगाइएको र केही समयपछि घाइतेको थप उपचारका लागि पठाइने तयारी भइरहेकोे धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले बताए।












