इनारमा डुबेर मृत्यु प्रकरण : तीनजना पक्राउ

लहान, कात्तिक ३ : झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
दसैंको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका–८ भाइजिटोलका १७ वर्षीय शत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका–३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीनजना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र दसैंको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पु¥याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।
गत शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए । तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए।
गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।












