किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै
बुटवल, कात्तिक ३ : निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ।प्रदेश कृषि निर्देशनालयका...
बुटवल, कात्तिक ३ : निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ।
प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए।
‘किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,’ उनले भने। लुम्बिनी प्रदेशका १२ जिल्लामा ३६ हजार ४८० हेक्टर क्षेत्रफल खेतमा काटेर भित्र्याउन तयार पारेको किसानको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण छ।
१२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट सङ्कलन गरेको विवरणअनुसार प्रदेशमा कुल तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ।
वर्षा सुरु हुनुअगाडि नै ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा किसानले धान भित्र्याइसकेको र ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा काट्नका लागि तयारी भएको धान बाली ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख देवकोटाले जानकारी दिए।
उनका अनुसार प्रदेशमा अहिलेसम्म १७.३ प्रतिशत काटेर भित्र्यउन लागेको, ११.४९ खेतमा काटेको र २९.४ प्रतिशत ढलेको धान रहेको प्रारम्भिक विवरण आएको छ। क्षतिको विस्तृत विवरण आएपछि क्षतिको प्रतिशत बढ्ने देवकोटाले जानकारी दिए।
काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने भए पनि काटेर खेतमै क्षति भएको किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा सङ्घीय सरकारका विभागीय मन्त्रालयसँग छलफल सुरु भइसकेको देवकोटाले उल्लेख गरे।
पश्चिम तराईका अधिकांश खेतमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दैछ।
दसैँअगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न सुरु गरेका थिए। समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो। लुम्बिनीमा प्रतिहेक्टर ३।५ मेट्रिक टन धान उत्पादन हुने आङ्कलन कृषि निर्देशनालयले गरेको थियो।












