Kathmandu Press

‘घर छोडेर जान मन लागेको छैन’

भजनी, कात्तिक ३ : कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो। बाढीको पानी बढ्दै गएपछि सोही...
‘घर छोडेर जान मन लागेको छैन’

भजनी, कात्तिक ३ : कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो। बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सारे। साँझको खाना पकाएर खानै नपाउँदा उनको भान्सामा पानी पस्यो। परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो।
 
‘खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो। धन्नले कुनै घटना भएन,’ उनले भने, ‘एक छाक भोकै भएर पनि ज्यान जोगियो ।’ अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक बिधालयमा आश्रय लिएर बसिरहेका छन् । सोही शिविरमा बस्दै आउनुभएकी सीता चौधरीको परिवार पनि सोही नदीको बाढीबाट विस्थापित भएको छ।

उनको घरभित्रसम्म पानी पसेको छ भने परिवारका सदस्यलाई बिद्यालयमा व्यवस्थापन गरिएको छ। उनी भने घर र घरको अन्नपात कुरेर जोखिममा बसेका थिए। ‘अरु सबै बिद्यालयमा बसेका छन् । घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ,’ उनले भने, ‘बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौँ । राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर कता गरिरहेको छ थाहा छैन । त्यसको हामीलाई कुनै असरसम्म पनि परेको छैन।’

Hardik ivf

मङ्गलबार राति ९ बजे विजयनगर शिविरकै विक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालो बगिरहेको थियो। परिवारलाई सुरक्षित स्थानमा सारेका उनलाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन। दुवै तिरबाट पानीका भंगालोको बिचमा रहेको घरमा चौधरी एकलै बसेका थिए। ‘घर छोडेर जान मन लागेको छैन। अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु,’ उनले भने, ‘खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।’

 नगरपालिकाअन्तर्गतका सातवटै शिविर डुबानमा परेका छन्। विजयनगर शिविरमा जङ्गली हात्तीको त्रासले स्थानीय झनै आतङ्कित भएको स्थानीय बलबहादुर बुढाले जानकारी दिए। उनले गाउँमा बढी पसेसँगै जङ्गलबाट गाउँ पसेको हात्तीले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत नष्ट गरेको बताएका छन्।

नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीया कुलामा पानीको सतह अत्यधिक बढेको छ। ती कुलामा पानीको सतह बढ्दा कर्णालीका तटीय क्षेत्रका सयौँ परिवार विस्थापित भएका छन् भने टीकापुर बजारका मुख्य सडकसमेत जलमग्न बनेका छन्। अहिलेसम्म दर्जनभन्दा बढी पसलमा बाढी पसिसकेको छ। टीकापुर–१ को ब्लक नं १४ का अधिकांश घर डुबानमा परेका छन्।

 

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्