अस्पताल पुगेर वैद्यलाई भेटे उपराष्ट्रपति पुनले
काठमाडौं, कात्तिक २ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणलाई अस्पतालमा भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका...
काठमाडौं, कात्तिक २ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणलाई अस्पतालमा भेटेर उनको स्वास्थ्यबारे जानकारी लिएका छन्।
दमको समस्या बढेपछि उनी उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।
सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उनको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।
महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उनी ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन्।
यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।












