प्रदेश ३ का मुख्यमन्त्री पौडेलले भने- स्थायी राजधानी हेटौँडामै हुनुपर्छ भन्ने पक्षमा म छैन
काठमाडौं, साउन २३ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन्। <....
काठमाडौं, साउन २३ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तर्क्रियामा मुख्यमन्त्री पौडेलले आफू हेटौँडामै प्रदेश ३ को राजधानी हुनुपर्छ भन्ने पक्षमा नरहेको तर काठमाडौंमा हुन नदिने बताएका हुन्।
‘प्रदेशको राजधानी हेटौँडामै हुनुपर्छ भन्ने पक्षमा म छैन,’ मुख्यमन्त्री पौडेलले भने,‘घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो।’ मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेकाले त्यसमा छलफल गर्न आफू तयार रहेको बताए।
मुख्यमन्त्री पौडेलले सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन हुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको बताए। आफूले २०-२५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा पुगेको उनको भनाइ छ।
उनले प्रदेश ३ को राजधानी र नाम दुबै एकै दिनमा टुंगो लाग्ने पनि बताए। मुख्यमन्त्री पौडेलले आफ्नो प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशिल गराइएको बताए।






