संघीय व्यवस्था खेलाैना होइन, एउटा बच्चाले मन परेन भन्दैमा फेर्न सकिन्न: जनार्दन शर्मा
काठमाडौं, साउन २३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भइरहेकाले त्यो आ....
काठमाडौं, साउन २३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भइरहेकाले त्यो आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका सांसद शर्माले संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नुलाई स्वभाविक रुपमा लिन नसकिने बताएका हुन्।
उनले संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी गरे। ‘संघीय व्यवस्था भनेको गुडिया वा कुनै खेलौना होइन। यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिँदैन,’ शर्माले भने,‘त्याग र बलिदानबाट प्राप्त भएको कुरालाई गुडियाको रुपमा नलिइयोस्। म सचेत र सर्तक गराउन चाहन्छु।’
शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसँग् माग गरे। सत्य तथ्य पत्ता लगाएर न्याय निरुपण नगरी शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुने भन्दै उनले संवेदनशील विषयलाई हेलचेक्राइँ नगर्न आग्रह गरे।
शर्माले जिम्मेवारीपूर्वक आयोग तत्काल गठन गरी काम अघि बढाउन सरकारलाई आग्रह गरे।






