Kathmandu Press

कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्योः विश्वप्रकाश शर्मा

काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (न....

कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्योः विश्वप्रकाश शर्मा
फाइल

काठमाडौं, साउन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका छन्। 

पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शर्माले नेकपाको प्रतिवेदनमा कांग्रेसबारे इमान्दार दृष्टि नभएर दृष्टिदोषका रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन्। 

‘कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणबारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ। अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ,’ उनले भने,‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र। म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’ 

नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतामा खरोसँग उत्रिन नसकेको, भ्रष्टाचारविरुद्ध खडा हुन नसकेको, कयौं सन्दर्भमा भ्रष्टाचारमा संलग्नलाई संरक्षण नै दिने गरेको आरोप लगाएको छ।

शर्माले कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको दाबी गरे। उनले बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई सही बाटोमा डोर्‍याउने प्रयत्न पनि कांग्रेसले गर्दै आएको बताए। 

प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा कांग्रेसले सद्व्यवहार गर्दै आएको उनको भनाइ छ। ‘हामी विश्वस्त छौँ यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ,’ शर्माले भने।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, साउन २३, २०७६