Kathmandu Press

सडक कालोपत्र भएपछि रत्नेचौरमा रौनक बढ्यो

गलेश्वर, कात्तिक १ : उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै...
सडक कालोपत्र भएपछि रत्नेचौरमा रौनक बढ्यो

गलेश्वर, कात्तिक १ : उत्तरतर्फ चाँदी झैँ टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन बढेको छ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको एक हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो।

Hardik ivf

समथर फाँटमा झुलेको धान, फाँटका बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलालाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ।

बेनी नगरपालिकाका तीन वडा समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे शुरु भएको हो। सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष एक हजार ३०० मिटर सडक कालोपत्र गर्ने योजनाअनुसार काम गरिएको बेनी नगरपालिका–२ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए। उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायतका स्तरोन्नतिका काम भएका छन्।

सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ। सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न एक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न एक करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाअध्यक्ष रावलले बताए।  

सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नतिलगायतका काम सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए।
 
सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए। ‘यहाँदेखि सुरु भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्,’ उनले भने।

कच्ची सडकका कारण नियमित सवारीसाधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकामा सडक कालोपत्र सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ। सांसद भुपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो। आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रेसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिनेछ।

 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्