Kathmandu Press

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

काठमाडौं, कात्तिक १ : काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ। विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले...
मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

काठमाडौं, कात्तिक १ : काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ। विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो। 

बगैँचा बनाउन काठमाडौं महानगरपालिकाले एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए। मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माणसँगै रेलिङ, बार पनि परिवर्तन गरिने छ।

Hardik ivf

बगैँचाको काम सुरु गर्न गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेकामा त्यसबाट काम हुन नसकेको उनले सुनाए। विसं २०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरुप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।   

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ। बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको महानगरपालिकाले जनाएको छ।

बगैँचाको डिजाइन बनाउने काम सम्पन्न गरी पूर्वाधार विभागले ठेक्का निकालेको छ। महानगरपालिका–९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ। वडा नं ९ को जग्गा खाली छ । वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए। 

वडा नं ९ खाली जग्गामा पनि मोहीकाबीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया सुरु गरेको हो। अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ। मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण सम्पन्न गरेको छ। 

पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ। मन्दिर परिसरमा रहेको मयुरकुण्ड पनि संरक्षण गर्न लागिएको वडाध्यक्ष कार्कीले बताए। मयुर कुण्डभित्र रहेको नाग र नागिनीको मूर्ति पनि भक्तजनले दर्शन एवं पूजा आराधना गर्नसक्ने गरी व्यवस्थापनको तयारी भएको छ। गोरखास्थित मनकामना माइको दर्शन गरेर फर्कने भक्तजनले मयुरकुण्डको जल मैतीदेवीलाई चढाएपछि मात्र फल मिल्ने किम्बदन्ती प्रचलनमा छ।

मैतीदेवी क्षेत्रमा सहरीकरण हुनुअघि राजकुलो यहाँबाट पुतलीबजार पुगेको थियो। राजकुलाको यो जग्गा मैतीदेवी प्रहरी बिटबाट नै मिचिएको छ। यस क्षेत्रका नौ दशवटा सटरको आधा भागमा सार्वजनिक जग्गा पर्ने वडा कार्यालयले जनाएको छ। रासस
 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्