Kathmandu Press

हराउँदै लिङ्गे पिङ

भक्तपुर, कात्तिक १ : ‘चचहुइ....सरर’ भन्दै नेपालीको महान चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ। विशेष गरी काँठ क्षेत्रमा चोक–चोकमा, चौर तथा...
हराउँदै लिङ्गे पिङ

भक्तपुर, कात्तिक १ : ‘चचहुइ....सरर’ भन्दै नेपालीको महान चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ। विशेष गरी काँठ क्षेत्रमा चोक–चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने लिङ्गे पिङ यसवर्ष देखिएन। 

दसैँमा निकै रौनकता थप्ने लिङ्गे पिङ काँठ क्षेत्रमा देखिन छाडेपछि नयाँ पुस्ताका लागि यो एकादेशको कथा बन्न थालेको छ। केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यसवर्षदेखि काठमाडौं उपत्यकामा देख्नसमेत मुश्किल पर्‍यो। अघिल्लो पुस्तासम्म दसैँ आयो भन्ने वित्तिकै पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्ने योजनानै बन्ने गथ्र्यो। कानूनी रुपमा अवैध मानिएपछि लङ्गुरबुर्जा र ओखर खेल्न सरकारले रोक लगाएपछि यो परम्परा करिब ती क्षेत्रबाट हटिसकेको छ। 

दसैँमा मासु चिउरा खाएर कौशीमा बसेर चङ्गा उडाएर रमाइलो गर्ने परम्परासमेत अब लोप हुने अवस्थामा पुगेको छ। केही वर्ष अगाडिसम्म दसैँमा आकाशमा धेरै चङ्गा उडेको देखिन्थ्यो। तर केही वर्षयताको दसैँमा आकाशमा चङ्गा देखिन छाडेका छन्। खासगरी बालबालिकाहरु मोबाइललगायतमा उपलब्ध गेममा झुम्मिने कारण चङ्गाप्रतिको आकर्षण घटेको छ। दसैँ आगमनको शुरुआतसँगै खेलिने लिङ्गे पिङ यसवर्ष भक्तपुरमै पनि चार ठाउँमा मात्रै देखियो। त्यो पनि बच्चाका लागि भन्दै टोलबासीले हालिदिएको दुई वटा साना पिङले परम्परादेखि खेलिँदै आएको लिङ्गे पिङको अस्तित्व धानिरहेको देखिन्थ्यो। 

Hardik ivf

काँठ क्षेत्रमा विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन्। टोलबासीले घरधुरीको रुपमा निश्चित रकम सङ्कलन गरेर बाँसदेखि लठारोसमेत किनेर दसैँमा हालिएको पिङ तिहारसम्म राखेर खेल्ने दिन अब हराएका छन्। 

एउटा जिल्लामा सयौँको संख्यामा देखिने यस्ता लिङ्गे पिङ यसवर्ष भक्तपुर सहर क्षेत्रमा देखिएनन्। ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिए पनि विगतका जस्तो रौनकता देखिएको छैन। बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियोको डोरीकोसमेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको सूर्यविनायक नगरपालिका–१० का ७२ वर्षीय भगवाण कार्कीले बताए।

दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउँदा पुण्य प्राप्त हुने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने प्रचलन रहँदै आएको उनी बताउँछन्। केही वर्षयता यस्ता लिङ्गे पिङ देख्नै नपाएको उनी बताउँछन्। 

चाँगुनारायण नगरपालिका– ९ ताथलीकी ४२ वर्षीया एशिला कार्कीले हरेक वर्ष दसैँमा टीका थाप्न माइत आउँदा माइती गाउँमा पिङ खेल्ने गरे पनि विगत चार वर्षदेखि भने माइती गाउँमा पिङ देख्नै नपाएको बताउँछिन्। 

आफ्नो घर ललितपुरको सुनाकोठीमा पनि धरै वर्षदेखि पिङ हाल्न छाडेकाले माइती गाउँमा आएर पिङ खेल्ने चाहना पनि अधुरै रहेको उहाँ बताउछिन्। विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले आफन्तको टीका थाप्न जाँदा रहर पुग्ने गरी पिङ खेले पनि अहिले आफ्ना छोराछोरीका लागि दसैँ तिहारमा खेलिने लिङ्गे पिङका बारेमा भन्नुपर्दा कथा भने जस्तै लाग्ने गरेको सुनाउछिन्, लक्ष्मीमाया कार्की। बच्चालाई लिङ्गे पिङ भनेको यस्तो हुन्छ भनेर फोटोमा र गुगलमा खोजेर देखाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। 

नयाँ पुस्ता दसैँमा पिङ खेल्ने भन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने, सामाजिक सञ्जालमा रमाउने गर्दा पिङको महत्व घट्दै गएको हो। पिङको रौनकतालाई जोगाउन स्थानीय तहले वडा कार्यालयमार्फत केही बजेटको विनियोजन गरेर सबैलाई पायकपर्ने गरी प्रत्येक वडामा कम्तीमा दुई वटासम्म पिङ हाल्ने व्यवस्था गरे यसको महत्व र रौनकता जीवित रहने चाँगुनारायण नगरपालिकाका महिला वडा सदस्य कमला गिरी बताउछिन्। 

यसवर्ष केही स्थानीय सामूदायिक संस्थाले नगरपालिकाले पिङको लागि बजेटको व्यवस्था गरिदिन माग गरेको उनले सुनाइन। विशेषगरी पिङ खेल्ने, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ। रासस
 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्