Kathmandu Press

धरानमा दसैँकाे अवधिमा सात करोडको खसीबोकाको कारोबार

धरान, कात्तिक १ : धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको...
धरानमा दसैँकाे अवधिमा सात करोडको खसीबोकाको कारोबार

धरान, कात्तिक १ : धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो। 

असोजभरि सात हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ। 

समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसैँ अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो। दसैँको मुखमा पाँच करोड रुपैयाँको कारोबार भएको छ। धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए।

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ। धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ। किसानले बिहीबार  नै खसीबोका ल्याउँछन्।

शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ। ‘पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्,’ व्यवस्थापक भट्टराईले भने।
 

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्