Kathmandu Press

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

रामपुर, कात्तिक १ : कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ। 

रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ। यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन्।

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन्।

Hardik ivf

पर्यटकलाई लक्षित गरी विभिन्न भौतिक पूर्वाधार थप गर्दै पर्यटकीय संरचना बनाउने काम थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन अधिकारीले बताए। ‘पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि अहिले यो क्षेत्र पर्यटकको धार्मिक गन्तव्यका रुपमा चिनिएको छ, एकान्त र रमणीय ठाउँमा अवस्थित भएकाले पनि यस स्थलको विशेष आकर्षण छ,’ उनले भने।

यस क्षेत्रमा यहाँका स्थानीयको सक्रियतामा मन्दिर प्रवेशद्वारा, मन्दिर घेराबार, ऋषिमुनिको मूर्ति, तीन वटा पौवा, सार्वजनिक शौचालय, टर्मिनल, चार वटा चौतारी, पुजारी आवासगृह, १०८ शिवलिङ्ग निर्माण गरिएको छ।       

यो स्थान अवलोकन भ्रमणका लागि मात्र नभएर विवाह, ब्रतबन्ध, वनभोजलगायत लागि पनि आकर्षक गन्तव्य बनेको छ। यस आर्थिक वर्षमा रामपुर नगरपालिका– ८ को कार्यालयबाट सिद्धबाबा मन्दिर जाने बाटोमा नाली निर्माणका लागि रकम विनियोजन गरिएको वडाध्यक्ष बोमबहादुर नामजाली बताउँछन्।

पर्यटकीय प्रचुर सम्भावना बोकेको यहाँ प्याराग्लाइडिङ र जलयात्राका लागि पनि संरचना निर्माण गर्न सकिने यस क्षेत्रका मानिस बताउँछन्। कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी पर्दा ओत लाग्ने गर्दथे। सोही ओढारमा विसं २०५१ असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राति सपनामा सिद्धबाबाको मूर्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेर्दा मूर्ति भेटिएको किंवदन्ती छ।

त्यस समयपछि यस ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन्। ओढारका भित्री तथा बाहिरी भूभागमा विभिन्न देवीदेवताका आकृति प्रशस्तै देख्न सकिन्छ। ओढार नजिकै नवज्योति आमासमूह भुजातद्वारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मूर्ति, बसाहा, १०८ शिवलिङ्ग निर्माण गरिएको छ।

यहाँ शिवरात्रि पर्वका अवसरमा विशेष मेला लाग्ने गर्दछ। मन्दिरको उत्तरी भेगमा पवित्र कालीगण्डकी, पश्चिमतर्फ पीपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली खुला चउर, खेलमैदानले यो स्थान सुन्दर बनाएको छ।

रामपुर नगरपालिकाले वडा नं ७ को बाहुनडाँडामा प्याराग्लाइडिङ उडान सुरु गरेर यही सिद्धबाबा परिसरमा अवतरण गर्ने योजनाका साथ व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना बनाएको छ।

यहाँ शौचालय, खानेपानी थप व्यवस्थापन गर्ने, जीर्ण बनेको मन्दिर पुनःनिर्माण, प्रवेशद्वारदेखि मन्दिरसम्म जाने पैदलमार्ग व्यवस्थापन जस्ता भौतिक पूर्वाधार तत्काल गर्नुपर्ने देखिन्छ। मन्दिरको आफ्नै आयस्रोत नहुँदा पनि पूर्वाधार विकासको काममा आर्थिक समस्या छ।

रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट मन्दिर परिसरमा ट्रस्ट निर्माण गरिएको छ। स्थानीय पीपलपाटा सामुदायिक वन र नवज्योति आमासमूहले यहाँ लाग्ने मेला, विभिन्न पर्वमा सघाउँदै आएका छन्। रासस

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्