Kathmandu Press

मकवानपुरमा ६२ जनामा डेङ्गु संक्रमण भेटियो

हेटाैँडा, साउन २३ : मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। 

सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार....

मकवानपुरमा ६२ जनामा डेङ्गु संक्रमण भेटियो

हेटाैँडा, साउन २३ : मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। 

सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ। ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन्। डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ। 

उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको छ। डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा लामखुट्टे मार्ने र सचेतनामूलक कार्यक्रम गरिरहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए। 

हेटौँडामा विगत चार दिनदेखि जनचेतना जगाउँदै डेङ्गुको सङ्क्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसकाबारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुपेन्द्र कार्कीले बताए।

वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उनले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयवासीलाई आग्रह गरे। एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन्। 

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ। उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ। त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख कार्कीले बताए। 

गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ। उपमहानगरपालिका क्षेत्रमा यस्तो समस्या देखिएसँगै जिल्लाका अन्य क्षेत्रहरुबाट पनि बिरामीलाई डेङ्गुको आशंकामा स्वास्थ्यकर्मीहरुले हेटौँडा रेफर गर्ने क्रम बढेको बताइन्छ। तर ग्रामीण क्षेत्रहरुमा भने हालसम्म त्यस किसिमका प्रयास भएको पाइँदैन।

लामखुट्टेबाट जोगिन र शंका लागेमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई उपचार  गराउन प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अनुरोधसहित सूचना समेत जारी गरेको छ। रासस

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, साउन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्