Kathmandu Press

जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी

कञ्चनपुर, कात्तिक १ : जंगली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सानी पुर्‍याएको छ। खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले...
जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी

कञ्चनपुर, कात्तिक १ : जंगली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सानी पुर्‍याएको छ। खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो।

चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धानबालीमा नोक्सनी पुर्‍याएकाले किसान मर्कामा परेका छन्। ‘दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं,’ स्थानीय किसान राजकुमार चौधरीले भने, ‘हात्तीका बथानले पूरै धानका बाला खाएको छ। निकै नोक्सानी भयो।’

Hardik ivf

उनका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्दथ्यो। हात्तीले सबै खाएकाले  धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ। छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसंगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पुर्‍याएको छ। सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

‘तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर गरेका छन,’ उनले भने, ‘अनुगमन गर्नका लागि जाँदै छौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।’

धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ।
 

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्