पाकेको धान बेसमयको वर्षाबाट नष्ट
वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धानमा क्षति पुगेको छ ।
म्याग्दी, कात्तिक १ : वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धानमा क्षति पुगेको छ ।
वर्षाले धानका बाला झार्नुका साथै बोटसमेत ढलाएको छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका-२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।
‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एक-दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?’
जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले बताए ।
रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्य भएका र दसैंका लागि घर आएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए । ‘सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो,’ बेनी-१ अर्जमका देवी थापाले भने, ‘गाडी चल्न सक्ने अवस्था नै छैन ।’












