जुम्लामा विद्युतको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिइसक्यौंः मन्त्री पुन
काठमाडौं, साउन २३ : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व....

काठमाडौं, साउन २३ : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा विद्युत आपूर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भए लगत्तै वैैकल्पिक प्रयास सुरु गरिएको बताए।
उनले नेपाल विद्युत प्राधिकरणको मर्स्याङ्दी जलविद्युत केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गगरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताए। जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या सम्बोधनका लागि सम्बन्धित मन्त्री र विद्युत प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए।
सांसद महतले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेका थिए।
मन्त्री पुनले कर्णालीका सम्पुर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए। जुम्लामा ३३ केबी प्रशारण लाइनका लागि यसै वर्ष दैलेख–जुम्ला ट्रान्समिसन लाइनका लागि टेण्डर भएर छनौट पनि भइसकेको भन्दै उनले पाँच वर्षभित्र प्रशारणलाई बनिसक्ने बताए।
साथै उनले यसै वर्षको बजेटमा कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नम्बर २ को पूर्व विद्युतीकरणका लागि बजेटको व्यवस्था गरिएको पनि बताए।
सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाइन सेवामार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट विग्रेको जानकारी आफूले पाएको तर सांसद महतले आफूसँग भेट्न गरेको प्रयासबारे जानकार नभएको स्पष्ट पारे। उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानाकर्षण गराउँदा उपयुक्त हुने सुझाव समेत दिए।
उनले भने,‘जुन आवेगमा राख्नु भयो त्यही उचाइको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो।’ उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लान्ट रहेको र सो प्लान्ट उपभोक्ताको सहभागीतामा संचालन हुँदै आएको स्पष्ट पारे। साथै उनले सोही उपभोक्ता समितिले नै आयोजनाको संचालन मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कामहरु गर्दै आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मंसिरसम्म रहेको जानकारी समेत गराए।
स्थानीय पूर्वाधार कोषमार्फत २६ लाख ४० हजार खर्च गरेर १ सय ६० किलोवाटको डिजेल प्लान्ट लगाएर जुम्लामा आपतकालीन विद्युत सप्लाई सुरु भएको मिडियामा सुन्न आएको भन्दै उनले सांसद महतलाई धन्यवाद पनि दिए। मन्त्री पुनलाई ४५ जना सांसदले प्रश्न गरेका थिए।

-1784896419.png)









