Kathmandu Press

चार सडकआश्रितको उद्धार

बागलुङ, असोज ३१ : ‘यसपालिको दसैँमा, कोही नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मानवसेवा आश्रमले दसैँका बेला चलाएको अभियानका क्रममा चार सहयोगापेक्षी सडकआश्रित मानिसको उद्धार...
चार सडकआश्रितको उद्धार

बागलुङ, असोज ३१ : ‘यसपालिको दसैँमा, कोही नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मानवसेवा आश्रमले दसैँका बेला चलाएको अभियानका क्रममा चार सहयोगापेक्षी सडकआश्रित मानिसको उद्धार गरिएको छ। 

बागलुङस्थित आश्रमकी संयोजक सुमिरा लामाका अनुसार दुई दिन चलेको उद्धार अभियानमा ६ जनाको उद्धार गरिए पनि दुई बालक पछि आश्रमबाटै भागेका छन्। उनीहरू सदरमुकामका सडकमा बेवारिसे अवस्थामा फेला परेका थिए।

नवरात्रको फूलपातीदेखि टीकाको भोलिपल्टसम्म उद्धार अभियानलाई निरन्तरता दिने भनिए पनि दसैँमा अभियन्ता र अभिभावकको व्यस्तताका कारण सुरुका दुई दिन मात्र उद्धार अभियान सञ्चालन गरिएको थियो।

Hardik ivf

दसैँको मुखमा सहराविहीन भई सडकमा आश्रय लिइरहेका सहयोगापेक्षी मानिसलाई उद्धार गरी आश्रममा ल्याइएको संयोजक लामाले बताए। उनीहरूको अहिले आश्रममा हेरचाह र उपचार भइरहेको छ।

आश्रमले दसैँमा कोही पनि मानिस गाँस र बाँस नपाएर सडकमा रहन नपरोस् भनेर सामूहिक उद्धार अभियान चलाएको हो। चाडबाडबाहेकका बेला हुने नियमित उद्धार कार्य भने निरन्तर चलिरहने आश्रमले जनाएको छ।

पछिल्लो अभियानबाट थपिएका चारसँगै अहिले आश्रममा रहेकाको सङ्ख्या ५१ पुगेको छ। आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ। आश्रमको शाखा यहाँ आएपछि हालसम्म १२५ जनाको उद्धार गरिएको जनाइएको छ। २०७२ सालमा खुलेको आश्रमले अहिलेसम्म १६ सडकआश्रितलाई पारिवारिक पुनर्मिलन गराएको छ। 

‘हाम्रो चाहनाः सबैका लागि खाना, नाना र छाना’ भन्दै मानवता प्रवर्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ। बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ। 

आश्रममै टीका
दसैँ मनाउन धेरैलाई घर जाने चटारो पर्छ तर सहराविहीनका लागि आश्रम नै पवित्र घर बन्न पुग्छ। संयोजक लामा र अन्य अभियन्तालाई चाडपर्व आउँदा आश्रमका सहयोगापेक्षीलाई कसरी खुशी दिने भन्ने कुराले झक्झकाउँछ।

अलपत्र र दिनःदुखीलाई मिठोमसिनो खुवाउने, राम्रो लुगा लगाइदिने, रमाइलो वातावरण सिर्जना गरिदिने ध्याउन्न उनीहरूमा हुन्छ। यसपालिको दसैँमा पनि आश्रमभित्रै टीकाटालोको कार्यक्रम गरिएको संयोजक लामाले बताए।

‘वडाध्यक्ष र आश्रमका अभिभावकले सहयोगापेक्षीहरूलाई टीका लगाइदिए, आपसमा शुभकामना आदानप्रदान गरियो,’ संयोजक लामाले भन्नुभयो। आश्रम रहेको वडा ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, आश्रमका अभिभावक शिव खड्कालगायत दसैँ मनाउन त्यहाँ पुगेका थिए।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्